हेटौंडा \ विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९।६ मेगाहर्ज हेटौँडाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौंडा–१ स्थित फलफूल तथा तरकारी बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम रेडियोका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले मानव जीवनको सबैभन्दा पहिलेको सुरुवात सरसफाईबाट नै सुरुवात हुने भन्दै आफ्नो वार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएकोप्रति रेडियो थाहाको टिमलाई धन्यवाद व्यक्त गरे ।
वडाध्यक्ष न्यौपानेले तरकारी तथा फलफूल बजार उक्त स्थानमा सारिएको दिनको स्मारण गर्दै त्यसको व्यवस्थापन गर्नका लागि हरेक वर्ष नगरपालिकाले बजेट विनियोजित गरेको जानकारी गराए । फोहोरलाई मोहोर बनाउन लाग्नुपर्ने, सबैले घरबाटै फोहोर वर्गीकरण गर्दै फोहोर व्यवस्थापन गर्नुपर्ने र सरसफाई स्वास्थ्यसम्म जोडिएको विषय भएकाले फोहोर व्यवस्थापन गर्न जोड दिए ।
यस्तै, रेडियोका सञ्चालक सुमार्गीले थाहा रुपचन्द्र विष्ट र रेडियोको सम्बन्ध यसले गर्ने क्रियाकलापका कारण सकरात्मक परिवर्तनका लागि भूमिका निर्वाह गरेको प्रशंग जोड्दै आगामी दिनमा पनि सोही अनुसारको कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राजन अनुरागले सञ्चालन गरेको कार्यक्रममा आरती अघिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सप्ताहव्यापी कार्यक्रमबारे रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी गराएका थिए । म्यानेजर अधिकारी भोली शनिबार पत्रकार महिला र महिला अधिकारकर्मीहरुबीचको मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने, फागुन ३ गते थाहा दर्शन कार्यक्रम, फागुन ४ गते स्वास्थ्य तथा शैक्षिक सामग्री, श्रोता मिलान कार्यक्रम, हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रम हुने जानकारी दिए ।
कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद हुमागाई, टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारी, ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिका नवराज खतिवडा, शहरी स्वास्थ्य केन्द्र नकौलीको प्रतिनिधि प्रतिष्ठा कार्की, नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका सचिव नवराज पौडेललगायतको स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो । उनीहरुले आ–आफ्ना धारणा राख्दै तरकारी व्यवसाय र सरसफाई क्षेत्रको विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए ।
रेडियो थाहाले जनसरोकारमा प्रत्यक्ष, परोक्ष रुपमा सामाजिक क्रियाकलापमा संलग्न हुँदै रेडियोले निरन्तर १८ वर्षदेखि समाचार, विचार मनोरञ्जनका विविध पाटाहरुमा आवाजविहीनहरुको आवाज बुलन्द पार्दै आइरहेको छ ।