कैलाश \ चार सय वर्ष पुरानो शक्तिपीठको रुपमा पुजा आराधाना गरिदैँ आएको मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा अवस्थित स्यार्से कालिका मन्दिरमा शुक्रबार विशेष क्षमा याचना पुजन कार्यक्रमका साथै शतचण्डी महायज्ञ हुने भएको छ । विहीबार महायज्ञ परिसरमा पूर्वाङ्ग कार्य गरेसँगै भोली शुक्रबार शतचण्डी महायज्ञ हुन लागेको हो । स्यार्से कालिका मन्दिर क्षेत्र विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा महायज्ञ लगाउन लागिएको हो ।
आध्यात्मिक गुरु सविन शिवाकोटीले २ दिन हुने कार्यमा गङ्गा पुजन, पाठ पारायण, शतचण्डी पाठपारायण, नवग्रह पुजन, लघुरुद्राभिषेक, श्री सुक्तपाठद्धारा हवन, वैदिक तान्त्रिक हवन लगायत अन्य पाठपारायण गरिने बताए ।
स्यार्से कालिका मन्दिरको यहाँ सम्मको व्यवस्थित बनाउन स्थानीय सरकार र प्रदेश सरकारको लगानी रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । ०५० सालको बाढीले क्षतविक्षत अवस्थामा रहेको यस शक्तिपीठलाई क्रमिक रुपमा विकास र व्यवस्थित गर्दै अहिले यति धेरै संरचना निर्माण भएको बताए ।
गाउँपालिका र प्रदेश सरकारले बजेट विनियोजनका साथै स्थानीय, कालाखेती, बर्तौला, शिवकोटाी, लटौला परिवार लगायत अन्य थुप्रै चन्दादाताहरुको सहयोगमा मन्दिर परिसरमा विकास निर्माण भएको अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाले सबै धर्मका शक्तिपीठहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जगेर्ना गर्ने काम गरिरहेको बताए । मन्दिरका शक्तिपीठ, गुम्बा, चर्च लगायत विभिन्न धर्मका धार्मिक क्षेत्रको संरक्षण, प्रवद्र्धन र जगेर्ना गर्नुनै हाम्रो दायित्व हो, अध्यक्ष मुक्तानले भने । स्थानीय सरकारले सबै धर्मलाई समानताको रुपमा लिएर आवश्यक समन्वय र सहकार्य गर्दछ ।
तीन खोलाको त्रिवेणीमा बसेको स्यार्से कालिका मन्दिरमा ठकुरीको वायु रहेकाले वर्षौदेखी हामीले नै पूजाआजा गर्दै आइरहेको मन्दिरका पुजारी दान बहादुर ठकुरीले बताए । कालिका भगवतीका सात दिदीबहिनी मध्ये यहीँ वरिपरी चार दिदीबहिनी रहेको उनले सुनाए । यी स्यार्से जेठी भइन् भने सरिखेतको कान्छी हुन् । नामटार ९ घैराङ र कैलाश ३ कालिकाटारमा दुई दिदीबहिनीको कालिका मन्दिर रहेको पुजारी ठकुरीले बताए ।
श्रीराम नवमीको अवसरमा वास्तु पुजा, नवग्रह पुजा, नाग पूजा, क्षेत्रपाल, लक्ष्मीनारायण, योगिनी, नारायणबली पुजा लगायत हुने मन्दिर समितिका सचिव मनोज बर्तौलाले बताए ।