काठमाडौं \ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नरोकेको भए डा. गुणाकर भट्ट अहिले नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा काम गरिरहेका हुन्थे । तत्कालीन एमाले–कांग्रेस गठबन्धन सरकारका पालामा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले भट्टलाई गभर्नर बनाउन सिफारिस गरेका थिए ।
तर, सत्तापलटपछि भएको निर्वाचनमा बालेन्द्र (बालेन) शाहले केपी शर्मा ओलीलाई नै पराजित गरे र बलियो बहुमतको सरकार बनाएपछि डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले भट्टलाई कुनै हालतमा गभर्नर नबनाउने रणनीति लिएका थिए । त्यसबेला राष्ट्र बैंक कार्यकारी निर्देशक रहेका उनलाई गभर्नर बन्न नदिन ओलीले सुरुमा कार्यकारी निर्देशकलाई गभर्नरमा सिफारिस नै गर्न नमिल्ने तर्क गरेका थिए ।
सत्ता साझेदार दलहरूबीच उनलाई गभर्नर बनाउने सहमति समेत जुटेको भन्दै देउवाले नै भनेपछि डा. भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिए । तर, तत्कालीन कार्यवाहक गभर्नर डा. निलम तिम्सिना ढुंगानाले उनको राजीनामा स्वीकृत नै गरिदिइनन् ।
ओलीकै चाहनामा राजीनामा स्वीकृत नगरी उक्त विषयलाई विवादित बनाइएको थियो । त्यसपछि देउवाले गभर्नर सिफारिस समितिमा रहेका डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउन सिफारिस गरे । सिफारिस समितिबाट राजीनामा दिएपछि बनेको अर्को सिफारिस समितिले डा. पौडेल सहितको नाम सिफारिस गर्यो र पौडेल गभर्नर बने ।
पछि गभर्नर डा. पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेसँगै भट्ट पुन: राष्ट्र बैंक फिर्ता भएका थिए । भट्टले गत कात्तिकमा अनिवार्य अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहँदा उनले कर्जा सूचना केन्द्र अध्यक्ष, धितोपत्र बोर्ड सञ्चालक तथा ग्रामीण विकास बैंक सञ्चालक भएर काम गरेका थिए ।
योजना आयोग उपाध्यक्ष नेपाल सरकार तथा प्रधानमन्त्रीको मुख्य आर्थिक सल्लाहकार पनि हो । सरकारका योजना निर्माण, अनुगमन र मूल्यांकनसम्मका काम यो निकायबाट हुने गर्छन् । भट्टले वेन स्टेट युनिभर्सिटी अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले ‘फाइनान्सियल डेभलपमेन्ट एन्ड हेल्थ क्यापिटल एकुमुलेसन’ शीर्षकमा सन् २०१३ मा विद्यावारिधिको अनुसन्धान सम्पन्न गरेका थिए ।