हेटौँडा \ राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहा अवतार’ को निर्माता र कलाकार टोलीले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको प्रदर्शनका बारेमा जानकारी गराएका छन् । ८ वर्षपछि राजेश हमालको पुनरागमनलाई आमरुपमा चासोका साथ हेरिरहेका बेला नरसिंहा अवतार निर्माण टोली र कलाकारले हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गरेका हो ।
जेठ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने निर्माता तथा वितरक नरेन्द्र महर्जनले बताए । राम्रा नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको सन्दर्भमा नरसिंहा अवतार पनि दर्शकले रुचाउने र राम्रो व्यापार गर्ने चलचित्रको रुपमा स्थापित हुने विश्वास निर्माता महर्जनले लिएका छन् । राजेश हमालको पुनरागमन र पुराना चर्चित गीतलाई समावेश गरेर निर्माण गरिएको चलचित्रले दर्शकलाई सन्तुष्टि दिने महर्जनको दावी रहेको छ ।
करिब ४ करोड रुपैयाँ लगानी रहेको चलचित्रमा अधिकांश हेटौँडाकै लगानीकर्ता छन् । चलचित्रमा नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक शर्मा ढकालसहितको लगानी रहेको छ । चलचित्र लाई दिवाकर भट्टराईले निर्देशन तथा लेखन गरेका छन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कलाकार राज कटुवाल र सनिषा भट्टराईका साथै निर्माता तथा कलाकार ध्रुव न्यौपाने, निर्माता दीपक शर्मा ढकालले आफ्नो अनुभव र चलचित्र सम्बन्धी जानकारी गराएका थिए ।
चलचित्रमा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जनलगायतका कलाकारको अभिनय छ । चन्द्र पन्तको कथा रहेको चलचित्रमा राजु तामाङको द्धन्द, कविराज गहतराज र माइकल चन्दको नृत्य, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ।