मकवानपुर \ बागमती प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेटमार्फत डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको हो ।
प्रदेशभित्रको मौलिकता एवम् सांस्कृतिक विविधता झल्काउने चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने तथा पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रूपमा विकास गर्न सरकारले बजेटको व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
डाङडुङे डाँडामा अन्तर्राष्ट्रियकरण चलचित्र नगरी (फिल्म सिटी) निर्माणका लागि यस अघि नै संघ सरकारले पहल गरेको थियो । सङ्घीय सरकारको बजेट मार्फत थालिएको उक्त पहलसंगै प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार गरिएको थियो ।
भीमेश्वर नगरपालिका–९ मा अवस्थित डाङडुङे डाँडा समुन्द्री सतहदेखि २ हजार ९०० मिटरदेखि ३ हजार ४०० मिटरको उचाइमा रहेको छ । सफा आकाश, हिमालको काख, हरियाली जंगल, अनि टाढाटाढासम्म देखिने धवल पर्वतशृंखला... डाङडुङे डाँडाबाट देखिने पर्यावरण हो ।
छिनभरमा नै फेरिने मौसम, बादलले ढाकेका थुम्का, चौँरी चरण अनि हरियाली वातावरण डाङडुङे डाँडाको पहिचान हो । त्यसो त डाङडुङे डाँडामा चदै गरेका चौरीका घाटीमा बाँधिएका घण्टीका आवाजले सो क्षेत्रको वातावरणलाई थप रोचक बनाउँछ । डाङडुङे डाँडामा उभिँदा प्रकृतिले चलचित्रको पर्दा खोलेजस्तो लाग्छ ।
काठमाडौंबाट ११८ किलोमिटर पूर्व, दोलखा सदरमुकाम चरिकोटबाट केही घण्टाको यात्रामा अवस्थित डाङडुङे डाँडा सेतीदेवी सामुदायिक वन क्षेत्रमा पर्दछ । त्यहाबाट देखिने दृश्यहरूले चलचित्र सुटिङ मात्र होइन, पर्यटकको मन जित्न पनि सक्षम छ । सो क्षेत्रमा ५० प्रजातिका जैविक प्राणी, १४ प्रजातिका गुराँस, स्वयम्भू, फूलचोकी, गौरीशंकर, गणेश, जुगल, लाङटाङ, धौलागिरी हिमश्रृंखला, सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भू–भागहरू दृश्यावलोकन गर्न सकिन्छ । जसले फिल्म सुटिङलाई नै एक महाकाव्यिक अनुभव बनाउनेछ ।
फिल्म सिटी निर्माण पछिका सम्भावना ?
- अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्य
- सांस्कृतिक कार्यक्रम, फिल्म महोत्सवको हव
- ट्रेकिङ, एड्भेन्चर, इको–टुरिज्मको केन्द्र
- रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत
- पर्यटन आम्दानी र पूर्वाधार विकास